Bg ImageBg ImageMain Image

हामी कसरी फरक छौं ?

नेपालमा धेरै पार्टी छन् । यी पार्टीहरुको भीडमा हामी पनि सामेल भएका छौं । तर, अन्य पार्टीभन्दा निम्न कारणले हामी फरक छौंः

 

१. प्रारम्भिक निर्वाचन प्रणाली

राज्यका कुनै पनि तहका निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी टिकट पार्टीका साधारण सदस्यहरुको मतदानबाट विजयी हुनेलाई मात्र दिइने छ । यस्ता मतदानमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गरी उम्मेदवार छान्न पाउने छन् । पार्टीका तर्फबाट हुने प्रधानमन्त्री, मुख्यमन्त्री पनि पार्टीकै साधारण सदस्यको मतबाट छानिने छ । यस्तै समानुपातिक निर्वाचन प्रणालीमा पनि साधारण सदस्यको मतदानबाट नामावली र क्रम संख्या तयार पारिनेछ । तर, कुनै पनि बहानामा कसैलाई ‘टीका’ लगाएर उम्मेदवारको टिकट भने दिइने छैन ।

२. भ्रातृ संगठनरहित

राष्ट्रिय स्वतन्त्र पार्टीमा कुनै पनि किसिमको भ्रातृ संगठन हुँदैन । युवा, महिला, किसान, मजदुर, पेसागत नेपाली, व्यवसायी, आदिवासी, मधेसी, दलित, जनजाति, अल्पसंख्यक, सीमान्तकृत, मुस्लिम, अपांगता भएका व्यक्तिहरुलगायत सबैका आवश्यकता र मागलाई पार्टीका मूल संरचनाबाटै उठाइनेछ । नेपालीहरुलाई राजनीतिभन्दा आफ्नो कर्ममा तल्लीन हुन प्रोत्साहन गरिने छ । 

भ्रातृ संगठनको निर्माण जुनसुकै उद्देश्यबाट भए पनि वर्तमान अवस्थामा त्यस्ता संगठन राजनीति गर्ने थलो बनेका छन् । जबकि, राजनीतिक पार्टीको मूल संरचनाबाटै राजनीति गर्न सम्भव छ । घरैपिच्छे नेता जन्माउने परिपाटीको अन्त्य गरी राजनीतिलाई सुसंस्कृत र सम्मानित बनाउनु हाम्रो मुख्य उद्देश्य हो ।

३. कार्यकर्तारहित

पार्टी सदस्यलाई मतदाता नामावलीमा नाम भएको र नभएको अर्थात् मतदाता परिचयपत्र भए/नभएको आधारमा प्रारम्भिक र साधारण सदस्यमा विभाजन गरिएको छ । मतदाता नामावलीमा नाम नभएकाहरुले नाम दर्ता गरेपश्चात् साधारण सदस्यमा बदलिने छ । अन्य पार्टीमा झैं सक्रिय, क्रियाशील, संगठित सदस्यलगायतका व्यवस्था गरिने छैन । पार्टीका सबै कार्यक्रममा सदस्यलाई स्वेच्छिक रुपमा भाग लिने/नलिने अधिकार हुनेछ । तर, कार्यक्रममा भाग नलिएकै आधारमा कारबाही हुने छैन । यसर्थ हाम्रो पार्टी कार्यकर्तारहित पार्टी हो ।

४. बहुसंख्यक युवा

पार्टीको सबै तहमा, सम्भव भएसम्म (५० प्लस १ प्रतिशत) को संख्यामा युवा (४५ वर्ष वा ४५ वर्षभन्दा कम उमेरका) हुनेछन् ।

५. पार्टीको साधारण सदस्यता लिएका जो कोही नेपाली पनि सीधै सभापतिसम्म हुन पाउने 

आफ्नो जीवनमा व्यावसायिक तथा व्यक्तिगत सफलता हासिल गरी राजनीति गर्न चाहने क्षमतावान् नेपालीलाई अन्य पार्टीमा सीधै नेतृत्व लिने अवस्था छैन । यस्तो अवस्थामा हाम्रो पार्टीको सदस्यता लिई सीधै पार्टीको सभापतिसम्म भएर नेतृत्व गर्ने अवसर सुनिश्चित गरिएको छ । पार्टी सभापतिको छनौट, पार्टीका सम्पूर्ण सदस्यहरुले मतदानमार्फत गर्नेछन् ।

६. पार्टी सदस्यमा नै सार्वभौमिकता निहीत

पार्टीका कुनै पनि तहको निणर्यलाई सदस्यको बहुमतले उल्ट्याउन सक्नेछ ।

७. पार्टी सदस्यलाई एजेन्डा, नीति तथा विचार उठाउने अधिकार 

पार्टीका कुनै पनि सदस्यलाई पार्टीभित्र आफ्नो एजेन्डा उठाउने स्वतन्त्र अधिकार छ । त्यस्तो अधिकारको अनिवार्य रुपमा सुनवाइ हुनेछ । र, त्यस्ता एजेन्डा पारित भएमा उक्त एजेन्डा, नीति तथा विचार पार्टीको आधिकारिक एजेन्डा, नीति तथा विचार बन्नेछ ।

८. परिर्वतनशील नेतृत्व प्रणाली

पार्टीमा केन्द्रीय सभापति, प्रदेश सभापति, जिल्ला सभापति र पालिका सभापति, दुई कार्यकालभन्दा बढी हुन पाइने छैन । उक्त कार्यकाल पार्टीको पहिलो महाधिवेशनपछि गनिनेछ ।